३ साउन २०८३, आइतवार

लागू औषधमा पक्राउ परेका अधिकांश ‘ब्राउन सुगर’का आरोपी

३ साउन २०८३, आइतवार
Image

फाइल फोटो 

झापा, ३ साउन । लागू औषधको कसुरमा एक वर्षमा झापामा पक्राउ परेका ६३५ जनामध्ये अधिकांश ब्राउन सुगर (खैरो हेरोइन)को ओसारपसारमा संलग्न रहेका आरोपी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा तीन केजी ९४२ ग्राम ब्राउन सुगरसहित ६०२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले बताउनुभयो । ।

सो अवधिमा १० केजी १९६ ग्राम गाँजासहित १० जना, मनोद्विप ट्याब्लेट दुई लाख नौ हजार ६२४ वटासहित २० जना र मनोद्विप एम्पुल एक हजार ८७० वटासहित तीन जना पक्राउ परेको उहाँले जानकारी दिनुभयो । 

झापामा लागू औषधको कसुरमा दर्ता भएका मुद्धा र पक्राउ व्यक्तिको संख्या अन्य कसुरको तुलनामा उच्च रहेको प्रहरीले जनाएको छ । आव २०८२/८३ मा झापाको प्रहरीमा दुई हजार २२५ वटा मुद्धा दर्ता भएका छन् । जसमध्ये ३९३ वटा मुद्धा लागू औषधसँग सम्बन्धित रहेका छन् । सो अवधिमा सबै कसुरमा गरी कूल एक हजार ९१० जना पक्राउ परेका छन् । 

भारतको पश्चिम बंगाल र बिहार प्रान्तसँग खुला सीमा जोडिएको कारण झापा जिल्लामा लागू औषधको ओसारपसार नियन्त्रण प्रहरीका लागि मुख्य चुनौति बनेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो समय ‘लागू औषधविरुद्ध स्वीप अपरेसन’ र ‘लागू औषध विरुद्धको झापा अभियान’ सञ्चालन गर्दै आएको छ । 

स्वीप अपरेसनमार्फत ४८१ जना पक्राउ परेकोमा १७६ जनाविरुद्ध मुद्धा दर्ता गरिएको र ३०५ जनालाई मनोपरामर्श प्रदान गरेर अभिभावकलाई जिम्मा लगाइएको सूचना अधिकारी अवाले बताउनुभयो । 

मुद्धा संख्याका आधारमा लागू औषधपछि बैंकिङ कसुर, ठगी र अनलाइन सट्टेबाजीको अपराधमा पक्राउ परेका अभियुक्तको संख्या अधिक छ । उक्त अभियोगमा एक वर्षमा ३७३ वटा मुद्धा दर्ता भएको र १५५ जना पक्राउ परेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आत्महत्याको ३२७ वटा, अभद्र व्यवहारको ३०४ वटा, भवितब्य ज्यानको २४२ वटा, चोरी/डकैतीको १८३ वटा, जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगको १०७ वटा, सवारी ज्यानको ८५ वटा, कत्र्तब्य ज्यानको १५ वटा र अन्य १९६ वटा मुद्धा एक वर्षमा दर्ता भएका छन् ।

उक्त अवधिमा कूल दुई हजार २२५ वटा मुद्धा दर्ता भएको र एक हजार ४८९ वटा मुद्धा फछ्र्यौट भइसकेको उहाँले बताउनुभयो ।