झापा, २९ साउन । मेचीनगर नगरपालिकाले ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ । लामो अवधिदेखि फछ्र्यौट नभएर बेरुजु रकम बढेपछि अभियान नै सञ्चालन गर्नु परेको नगरपालिकाले जनाएको छ ।
वि.सं. २०५३ मा मेचीनगर नगरपालिकाको स्थापना भएको हो । त्यसभन्दा अघि अस्तित्वमा रहेका गाउँ विकास समितिकै पालादेखिको आर्थिक बेरुजु रकम फछ्र्यौट हुन बाँकी रहेको छ ।
बेरुजुलाई शून्यमा झार्ने लक्ष्यसहित अभियान सुरु गरिएको र हाल पहिलो चरणमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फछ्र्यौट गर्न सम्बन्धित सबैलाई सार्वजनिक सूचना प्रकाशित गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताउनुभयो ।
दोस्रो चरणमा निर्माण तथा उद्योगी व्यवसायीको बेरुजु फछ्र्यौटका लागि सहजिकरण गरिदिन उनीहरु आवद्ध संघ संगठनलाई आग्रह गर्ने र तेस्रो चरणमा बेरुजु भएका व्यक्तिको विवरण सार्वजनिक गर्ने कार्ययोजना बनाइएको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार मेचीनगर नगरपालिकाको वार्षिक बेरुजु रकम रु. १४ करोड ९९ लाख ४३० रहेको छ । आव २०८१/८२ भन्दा अगाडिको अद्यावधिक बेरुजु रु. ८१ करोड ३० लाख ४१ हजार ४८७ रहेको छ । यसप्रकार हालसम्ममा मेचीनगर नगरपालिकाको कूल बेरुजु रकम रु ९६ करोड २९ लाख ९६ हजार ९१७ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
“बेरुजुलाई शून्यमा झार्ने हाम्रो अभियान हो,” प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो– “निर्माण व्यवसायी, जनप्रतिनिधि, व्यवसायी र अन्य व्यक्तिहरुले बेरुजु फछ्र्यौट गरेर सहयोग पुर्याउनु हुने हामीलाई विश्वास छ । फछ्र्यौटका लागि हामी उहाँहरुलाई पत्राचार गरेर पर्याप्त समय पनि दिन्छौं ।”
अभियान सञ्चालन गरेपछि वर्षौदेखि बेरुजु दाखिला वा फछ्र्यौट नगरेका सरोकारवालाहरु सम्पर्कमा आउन थालेको र कतिपयले पुरानो रकम फछ्र्यौट गरेको उहाँले जानकारी दिनुभयो ।