धुलाबारी, १० भदौ । श्री प्रगति महिला कृषि सहकारी संस्थाको २० औं बार्षिक साधारणसभा बुधबार चारआलीमा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष गोमा ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर सहकारी समन्वय समितिकी संयोजक रेणुका डाँगी रहनुभएको थियो ।
उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै नगरमा भएका सहकारी संस्थाको बर्तमान अवस्था र चुनौतीको बारेमा बताउनुभयो । उहाँले अधिकांश सहकारीहरु संकटग्रस्त अवस्थामा रहेको जानकारी दिँदै महिलाद्वारा सञ्चालित सहकारीहरु सुरक्षित र समुदायमा आधारित रहेको ठोकुवा गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाका प्रमुख प्रेम श्रेष्ठ, श्री श्रेर्या सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष विन्दा प्रसाईं, सहकारी प्रशिक्षक डिल्ली दाहाल, बाल सुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वि.संं २०६३ साल असार २२ गते डिभिजन सहकारी कार्यालय भद्रपुरमा विधिवत दर्ता भई कार्य प्रारम्भ गरेको सहकारी संस्थामा हाल एक हजार ९७ जना शेयर सदस्य रहेका छन् । साविक दुहागढी गाविसका नौ वटा वडामा समूह बनाई रु. २० बाट बचत सुरु गरेको संस्थामा हाल रु. दुई सयदेखि एक हजारसम्म मासिक बचत गर्ने गरिएको सचिव कृष्णा सुवेदीले बताउनुभयो ।
कार्यक्रममा संस्थाको शेयर पूँँजी रु. एक करोड ९० लाख २१ हजार, निक्षेप रु. नौ करोड ६५ लाख ६८ हजार ९३१, ऋण लगानी रु. १० करोड ७६ लाख ९२ हजार ५६१ रहेको अध्यक्ष ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
उहाँले संस्थाले सुत्केरी पोषण भत्ता, मृतक राहतकोष, उपचार राहतकोष जस्ता सदस्यहित कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि डाँगीले १० जनालाई सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिक गंगादेवी कार्की प्रसाई, शेयरधनी अमिता खड्का, असल बचतकर्ता विष्णुमाया भण्डारी, असल बालबचतमा इसान न्यौपाने, असल ऋणी कमला बुढाथोकी बस्नेत, एइइ परीक्षामा उत्कृष्ट नजिता ल्याउने शेयर सदस्यका छोरा छोरीमध्ये प्रतिभा विश्वकर्मा, केविशा गुरागाई, यूनिशा अधिकारी, क्षितिज पौडेल र रक्षा पोखरेल रहेका छन् ।
संस्थाले मंगलबार नै सातौ अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गरेको सचिव सुवेदीले जानकारी दिनुभयो ।
