७ वैशाख २०८१, शुक्रवार

मेची उवासंघ चुनाव

एकातिर सत्ता गठबन्धन, अर्कातिर एक्लै कांग्रेस

९ माघ २०७९, सोमवार
Image

मेचीनगर, ९ माघ । मेची उद्योग बाणिज्य संघको नजिकिएको चुनावमा सत्ता गठबन्धन र नेपाली कांग्रेस समर्थित उम्मेद्वारबीच प्रतिष्पर्धा हुने सम्भावना बढेको छ ।

सदाबहार कांग्रेसकै वर्चस्व रहेको संघमा यसअघिको चुनावमा नेकपा एमालेका उम्मेद्वार ऋषिराज तिम्सिना अध्यक्ष पदमा बिजयी हुनुभएको थियो ।

केन्द्रीय सत्तामा फेरिएको राजनीतिक गठबन्धनको प्रभाव मेची उद्योग वाणिज्य संघको चुनावमा पनि पर्ने एमाले नेताहरुको दावी छ ।

सत्ता गठबन्धनका साझेरदार दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु अहिले विभिन्न चरणको छलफलमा जुटेका छन् ।

अर्कातिर, आफ्नो गुमेको वर्चस्व फर्काउन कम्मर कसेर लागिरहेको नेपाली कांग्रेसले एमालेसहितको गठबन्धन फुटाउने गरी केही दलसँग गोप्य रुपमा सम्बाद अघि बढाइरहेको कांग्रेस स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनका एक नेताका अनुसार एमालेले अध्यक्ष, महासचिव र केहि सदस्य पदमा दावी गरेको छ । उसले अध्यक्षमा खेमराज प्रसाई र महासचिवमा दिनेश शाक्यको नाम यसअघि नै सार्वजनिक समेत गरिसकेको छ ।

अध्यक्षका दावेदार प्रसाईले संघको उद्योग उपाध्यक्षको पद समालिसकेका छन् । प्रसाई २० वर्ष नेपाल कुचो व्यवसायी संघको अध्यक्ष भएर काम गरिसकेका कुशल युवा व्यवसायी हुन् । उनको मेचीनगरमा सिद्धार्थ प्लाइउड उद्योग सञ्चालनमा छ ।

माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष लगायत सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टीले उपाध्यक्ष, सचिव र २ जना सदस्य माग गरेको छ । जनता समाजबादी दलले पनि पदाधिकारी तहकै माग गरेको छ । एमालेका एक नेताले सबै दललाई मिलाएर लाने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

संघको स्थापनाकालदेखि बागडोर सम्हाल्दै आएको नेपाली कांग्रेसले १५ वर्ष नेतृत्व गर्यो । २०५४ सालमा स्थापना भएको संघमा संस्थापक अध्यक्षका रुपमा पन्नालाल जैन, नरेन्द्र खड्का, २ कार्यकाल विजय डालमियाले नेतृत्व गरेका थिए ।

त्यसपछि केशवराज पाण्डे, पंकजबिक्रम नेम्बाङले सफलता पूर्वक नेतृत्व गरे । अध्यक्ष नेम्बाङपछि कांग्रेसको विरासत एमालेले तोडेको थियो ।

एमालेबाट संघमा नेतृत्व गरेका सबैका साझा एवम् इमानदार युवा व्यवसायी ऋषिराज तिम्सिनाले संघको बागडोर सम्हाल्नु भयो । उहाँले कांग्रेसबाट अध्यक्ष बनेका पुनित बंशललाई ६ मत बढी ल्याएर पराजित गर्नुभयो ।

संघको २०७८ सालमा नै अर्को चुनाव हुनु पर्नेमा कोभिड र स्थानीय, संघीय र प्रदेश सरकारको चुनावका कारण झण्डै ४ वर्ष तिम्सिनाले संघमा नेतृत्व गरिरहेका छन् ।

यहि माघ २१ गते हुने चुनावका लागि कांग्रेसबाट उम्मेद्वार टुंगो लागिसकेको अवस्था छैन । तर पनि कांग्रेसका तर्फबाट युवा व्यवसायी एवम् वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, उपाध्यक्ष कपिल क्षेत्री, पुनित बंशल र हर्क फ्याक लिम्बु अध्यक्षका दावेदार हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्ष निरौला एक कार्यकाल कार्यसमितिका सदस्य हुन् । मेची वजरंग ट्रेड कन्सर्नका सञ्चालक उहाँ मेची भन्सार एजेन्ट संघका अध्यक्ष समेत हुनुहुन्छ ।

उपाध्यक्ष क्षेत्री पनि स्थापनाको पहिलो र दोस्रो कार्यकालको सचिव भइसकेका सफल युवा व्यवसायी हुनुहुन्छ । उहाँको जय माँ कामख्या प्लाउड इन्डस्ट्रिज सञ्चालनमा छ ।

अध्यक्षका दावेदार बंशल यसअघि पनि अध्यक्ष पदमा उठेर पराजित हुनुभएको थियो । बंशलको धुलाबारीमा शुभ–आशिष ट्रेडिङ कन्सर्न सञ्चालनमा छ ।

अर्का अध्यक्षका दावेदार लिम्बु काँकरभिट्टा खानेपानी सरसफाइ समितिको अध्यक्ष भएर कुशल नेतृत्व गरिसकेका युवा व्यवसायी हुनुहुन्छ । उहाँको काँकरभिट्टामा हर्क पसल नामको फर्म सञ्चालनमा छ ।

कांग्रेसले सम्भवतः मंगलबार बैठक बसेर अध्यक्ष पदका उम्मेद्वारको नाम फाइनल गर्ने बुझिएको छ ।

संघको चुनावमा केन्द्रकै जस्तो सत्ता गठबन्धन दल बन्ने विषयमा कांग्रेसका एक नेताले असम्भव बताउनुभयो । उहाँले काँग्रेस एक्लै पनि चुनाव जित्न सक्षम रहेको दावी गर्नुभयो ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।