२३ वैशाख २०८२, मङ्गलवार

कांग्रेसका प्रमुख सचेतक तामाङको सरकारविरुद्ध आयो कडा अभिब्यक्ति

२३ वैशाख २०८२, मङ्गलवार
Image

झापा, २३ वैशाख । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले आज विहान कडा शब्दमा प्रदेश सरकारविरुद्ध अभिव्यक्ति दिनु भएको छ ।

उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ–‘कोशी प्रदेश सरकारको एकलौटी रवैयाप्रति घोर विमति छ ।’

झापाबाट कोशी प्रदेश संसद्मा प्रतिनिधित्व गर्नुहुने सांसद् तामाङ यतिकैमा रोकिनु भएको छैन । ‘यस्तो सरकारमा रहनुभन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु’– उहाँले लेख्नु भएको छ ।

कोशी प्रदेशमा नेपाली कांग्रेससँगको सहकार्यमा नेकपा एमाले नेतृत्वको गठबन्धन सरकार छ । जसको मुख्यमन्त्री हिक्मत कुमार कार्की हुनुहुन्छ । सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरु पनि छन् ।

मन लागेको कुरा बोल्न पछि नपर्ने स्वभावका कांग्रेस सचेतक तामाङले आफ्नै पार्टीको गठबन्धन सरकारविरुद्ध यति कडा (किनकि उहाँले प्रतिपक्षी हुनुमा गर्व गर्छु समेत भन्नु भएको छ) अभिव्यक्ति किन दिनु पर्यो भन्ने बारेमा प्रष्ट भएको छैन ।

तैपनि राजनीति वृत्तमा केही अड्कलबाजी हुन थालेका छन् । पार्टीभित्रको विचार समूहमा उहाँ नेता कृष्णप्रसाद सिटौला र प्रदेश सभापति उद्धव थापाका विश्वासिला पात्र मानिनुहुन्छ ।

सिटौला र थापाले समेत नबोलेको विषयमा तामाङ के कारण यसरी बोल्नु पर्यो ? समयले यसको उत्तर देला । अहिले भने सिटौला र थापाकै भ्वाइस उहाँले बोलेको मान्नेहरु पनि छन् ।

अर्काथरि अनुमानकर्ताहरु उहाँ पार्टीका अर्का नेता शेखर कोइराला र केदार कार्कीबाट प्रभावित हुनुभयो कि भन्न थालेका छन् । कोइराला र कार्की मात्र होइन महामन्त्री गगन थापाले केही दिन अघि आवश्यक पर्यो भने सरकारबाट बाहिरिन तयार हुनुपर्ने अभिब्यक्ति दिनु भएको थियो ।

सांसद् तामाङको भनाईलाई लिएर कोशी प्रदेश सरकार ढाल्न नेपाली कांग्रेसभित्र तयारी भइरहेको हो कि भनेर अनुमान लगाउनेहरु पनि छन् । 

उहाँको फेसबुकमा तीर्थराज खनालले कमेन्ट गर्दै प्रमुख सचेतक त्यसै विरक्तिएको नहुनु पर्ने बताउनु भएको छ । खनाल लेख्नुहुन्छ– ‘तत्काल भएको चाहिँ के हो ? प्रमुख सचेतकको मन त्यसै विरक्तिएको होइन होला ? बुँदागत रुपमा भए गरेका एकलौटी कामका फेहरिस्त नै दिनु उचित हुन्छ जस्तो लाग्छ ।’

सांसद् तामाङले प्रदेश सभापति उद्धव थापा, झापा सभापति देउमान थेबे, झापा १ का सभापति इन्द्र बुढाथोकी लगायतका नेतालाई फेसबुक पोस्ट ट्याग गर्नु भएको छ ।

पार्टीका झापा सभापति देउमान थेबेले समेत केही दिन अघि झापामा सहकारी संघको चुनावमा नेकपा एमालेसँगको सहकार्यलाई लिएर असन्तोष प्रकट गर्दै विज्ञप्ति नै प्रकाशित गर्नु भएको थियो ।