नेपाली कांग्रेसको कुनै कार्यक्रममा पुग्नुभएको छ ? वा, कार्यक्रमका भिडियो हेर्नु भएको छ ? मञ्चको ठीक बिचमा बीपी कोइरालाको विशाल तस्बिर अनिवार्य रूपमा राखिएको देखिन्छ । रङ्गशाला जहाँ अर्जेन्टिनाको फुटबल खेल भइरहेको हुन्छ, त्यहाँ डिएगो म्याराडोनाको तस्बिर अंकित ठूला–ठूला ब्यानर, झण्डा र जर्सीहरू फहराइरहेका भेटिन्छन् । यी दुई टोली र व्यक्तित्वहरूको इतिहासलाई नजिकबाट हेर्दा एउटा रोचक दृश्य अगाडि आउँछ, राजनीति र फुटबल दुई फरक मैदान हुन्, तर अर्जेन्टिनी टोली र नेपाली कांग्रेसको आजको पदचाल एउटै एउटै ।
डिएगो म्याराडोना र बीपी कोइराला दुवै आ–आफ्नो क्षेत्रका निर्विकल्प व्यक्तित्व अझै मानिन्छन् । म्याराडोनाले सन् १९८६ को विश्वकपमा विपक्षी डिफेन्डरहरूलाई छक्याउँदै, आवश्यक पर्दा नियमको सिमाना नाघेर ’ह्यान्ड अफ गड’ (हातले हानेको गोल) गरेरै भए पनि अर्जेन्टिनालाई ट्रफी जिताए । उता बीपीले पनि नेपाली राजनीतिको कठिन मैदानमा प्रजातान्त्रिक क्रान्ति र वि.सं. २०३३ को मेलमिलापको नीतिजस्ता “ल्यान्डमार्क म्याच” खेलेर कांग्रेसलाई एउटा छुट्टै उचाइ र पहिचान दिए ।
त्यही म्याराडोनाको “ह्यान्ड अफ गड”ले अर्जेन्टिनामा र नेपालको वि.सं. २०४६ को परिवर्तनपछि कांग्रेसमा यस्तो कडा र भावुक “फ्यान बेस” निर्माण गरिदियो कि मान्छेहरू आँखै चिम्लेर टोलीको पछाडि लागे । तर, अहिले आएर दुवै तर्फका नयाँ र पुराना समर्थकहरूलाई एउटा ठूलो डरले सताउन थालेको छ, अर्जेन्टिनालाई पछिल्लो विश्वकपपछि र नेपाली कांग्रेसलाई पछिल्लो चुनावपछि यो पुरानो फ्यान बेस जोगाउदै कसरी नयाँ फ्यानहरु थप्दै सान्दर्भिक रहिरहने ? “हाइलाइट्स” र पुराना कथा बेचेर मात्रै अबको म्याच जित्न सकिँदैन भन्ने डर दुवैतिर उस्तै छ ।
पछिल्लो समय अर्जेन्टिना र कांग्रेस दुवै टोलीमा मेस्सीको अभाव भएको होइन, छन् मेस्सीहरु । मेस्सी जस्तै अनुहारमा निर्दोषपन भएका, र मिडियामा आएर “हामी फेयर प्ले गर्छौँ, फल हान्दैनौँ, नियम–कानुन र पद्धति मान्छौँ“ भन्दै भाषण गर्ने, सुन्दा कुरा निकै भद्र र राम्रो सुनिन्छ ।
राजनीतिको कडा नकआउट म्याचमा यी “मेस्सी” हरूको खेल हेर्दै शेरबहादुर दाई आफ्नै स्वरमा गीत गाउनु हुन्छ होला...
“सम्झना छेक्छ एकान्तमा निन्द्रामा सपनामा भइ
बतास गाउँछ मोहनी गीत मायाको कथा भइ
बिर्सन खोज्छु बाडुली लाग्छ मन यो चंचल भइ
हो......... भुलिदिनेलाई सम्झिदिनेलाई
माया त माया हो––––माया त माया हो..”
पेनाल्टी हान्दा बल सोझै गोलकिपरको हातमा, फ्रि–किक भने रंगशाला बाहिर ’चन्द्रागिरि’तिर । सधैँ “फेयरप्ले”को गफ दिएर मात्रै जित हासिल नहुने रहेछ । अर्जेन्टिनाले २०२२ को विश्वकप जित्न मेस्सीको भद्रपनका साथै अलिकति कडा रणनीति, एग्रेसन र टिमवर्क अपनाउनु परेको थियो । कांग्रेसका “मेस्सी”हरू भने मैदानमा एक्लै बल ड्रिब्लिङ गर्दै सोलो–रन हान्न खोज्छन्, तर डि–बक्सभित्र पुगेपछि आफ्नै टोलीका साथीसँग ठोक्किएर लड्छन् ।
फुटबलको दुनियाँमा कहिलेकाहीँ अति भावुक फ्यानहरू म्याच हारिसकेपछि “रेफ्रीले पक्षपात गर्यो, त्यसैले अनलाइन पिटिसन भरौँ र फिफालाई भनेर “फाइनल खेल” फेरि गराऔँ !” भन्दै सोसल मिडियामा क्याम्पेन चलाउँछन् । फुटबलको नियमअनुसार म्याच सकिएपछि पिटिसनले नतिजा बदलिँदैन भन्ने सबैलाई थाहा छ, तर फ्यानहरूले अभियान चलाँउदैछन् रे ।
सरकार वा सत्ताको म्याच सकिइसकेपछि फेरि “जिल्ला–जिल्लामा एक÷डेढ लाख अनि काठमाडौँमा पाँच÷छ लाख मान्छे उतारेर एकाएक म्याच पल्टाउँछौँ” भन्दै हुटिङ गर्दै छन् ! यो त ठ्याक्कै फिफालाई निवेदन बुझाएर हारेको फाइनल फेरि खेलाउन खोजेको जस्तै भएन र ?
न फिफाले अभियानको भरमा रिम्याच गराउँछ, न त मैदानमा रणनीति नै नभई दर्शकको हुटिङले मात्रै गोलपोस्टभित्र बल छिर्छ ।
नेपाली कांग्रेसमा मेस्सी मात्र होइन रोनाल्डोहरु पनि थुप्रै छन् । त्यहाँको अभाव भनेकै स्पेनको विश्वविख्यात “टिकी–टाका” शैली । आधुनिक फुटबलमा स्पेनका खेलाडीहरू आपसमा छिटो–छिटो र सटीक पास दिन्छन्, जहाँ अद्भुत टिमवर्क देखिन्छ । तर कांग्रेस मैदानमा आफ्नै टोलीको साथीलाई पास दिनुको साटो आफ्नैबाट बल खोस्न बढि अग्रसर देखिन्छ ।
विपक्षीको डि–बक्सभित्र छिरेर गोल हान्नु त परको कुरा, आफ्नै डि–बक्सभित्र सोलो ड्रिब्लिङ गर्दागर्दै आफ्नै गोलकिपरलाई छक्याएर आत्मघाती गोल हानेर “कस्तो खतरा खेलेँ” भन्दै मख्ख पर्ने खेलाडीहरूको त्यहाँ कुनै कमी छैन । आफ्नै साथीलाई पेनाल्टी एरियामा लडाएर कसरी म्याच जित्न सकिएला ?
अर्जेन्टिनी समर्थकहरू म्याराडोनाको तस्बिर र मेस्सीको नाम बोकेर गीत त गाउँछन्, तर उनीहरूलाई थाहा छ “भित्ताको फोटो वा पुरानो इतिहासले वर्तमानमा गोल गर्दैन” ।
हाम्रा कांग्रेसका दाजुहरूले पनि अब बीपीको फोटो र महिमा मण्डनले मात्रै म्याच जित्न सकिँदैन भन्ने सत्य बुझ्नुपर्छ । म्याराडोनाको इतिहास र मेस्सीको कलालाई जोडेर जसरी अर्जेन्टिनाले अघिल्लो विश्वकपमा ट्रफी उचाल्यो, कांग्रेसले पनि बीपीको विचार र आधुनिक टिमवर्कलाई मिलाउन सकेन भने, यो टोली सधैँ पुरानो “हाइलाइट्स” हेरेर चित्त बुझाउने दर्शकमा मात्र सीमित हुनेछ ।