२ असोज २०८२, बिहिवार

रास्वपाले अराजक गतिविधिमा संलग्न पार्टीका नेता कार्यकर्ता नजोगाउने

२ असोज २०८२, बिहिवार
Image

झापा, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो नेता र कार्यकर्ता जेनजीको आन्दोलनको क्रममा आगजनी र तोडफोड लगायत अराजक गतिविधिमा लागेको पाइएमा नजोगाउने जनाएको छ ।

पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले हालैको जेनजी युवा आन्दोलनका क्रममा देखिएका अराजक गतिविधिमा संलग्नलाई पार्टी त्याग्न सुझाव दिनु भएको छ ।

आचार्यले नख्खु कारागारबाट सभापति रवि लामिछाने बाहिरिएपछि भएको आगजनी र तोडफोडमा पार्टी नेताहरू संलग्न रहेको प्रमाणित भए कानुनअनुसार कारबाही गर्न सरकारलाई समेत आग्रह गर्नु भएको छ । उहाँले त्यसमा सरकारलाई रास्वपाको पूर्ण सहयोग रहने पनि बताउनु भएको छ ।

आचार्यले भन्न्ु भएको छ, ‘म वा मभन्दा माथिल्लो तहका वा तल्लो तहका जसैले संलग्नता देखाए पनि छानबिन र कारबाहीको दायरामा आउनुपर्छ ।’

घटनासँग प्रत्यक्ष र परोक्ष सम्बन्ध रहेको भन्दै विभिन्न भिडियोहरू र फोटोहरू आफूलाई प्राप्त भएको भन्दै उहाँले पार्टीको जिम्मेवार पदाधिकारीको रूपमा ती सबै सामग्रीहरू जस्ताका त्यस्तै अनुशासन आयोगसम्बद्ध सदस्यहरूलाई पठाएको उहाँले उल्लेख गर्नु भएको छ ।

‘सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रदेखि विभिन्न तहमा रहेका नेतृत्वले उग्रता प्रदर्शन गरेको देखिए यस्तो कुराको अपनत्व पार्टीले लिन सक्दैन,’ आचार्यले भन्नु भएको छ, ‘रास्वपाजस्तो शान्ति र अहिंसात्मक राजनीतिलाई मूल मर्म बनाएको पार्टीले नेतृत्व वा समर्थकले गरेका कुनै पनि उग्रताको समर्थन गर्नसक्ने ठाउँ रहन्न ।’

उहाँले रास्वपा स्थापना कालदेखि नै अहिंसा र लोकतान्त्रिक मूल्यमा प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीविरुद्ध मिथ्या सूचना र अफवाह फैलाउने षड्यन्त्र भइरहेको दाबीसमेत गर्नु भएको छ ।

जेनजी आन्दोलनलाई रास्वपाले सुरुदेखि नै शान्तिपूर्ण ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै आचार्यले अन्यायको अनुभूति गर्ने सबै युवाहरूसँग एकता र सहकार्य निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ ।

भदौ २३ गते राजधानीमा भएका शान्तिपूर्ण आन्दोलनलाई सरकारले दमन गरेको भन्दै आचार्यले त्यसैको प्रतिक्रियास्वरूप उत्पन्न अराजकतालाई पार्टीले कहिल्यै समर्थन नगर्ने प्रष्ट पार्नु भएको छ ।

‘शान्ति र अहिंसात्मक राजनीतिलाई मूल मर्म बनाएको पार्टीले कुनै पनि तह वा तप्काबाट उग्र गतिविधि हुने हो भने त्यसको समर्थन गर्न सक्दैन,’ आचार्यले भन्नु भएको छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले आज विज्ञप्ति जारी गर्दै पार्टी र नेताहरुको नाम भजाएर अवाञ्छित व्यक्ति र समूहले उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास र धम्कीपूर्ण टेलिफोन र मेजेस पठाउने कार्य गरिरहेको जानकारी आएको बताउनु भएको छ ।

जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहहरूले पार्टीलाई बदनाम गर्ने गतिविधि गरेको उहाँको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै, संलग्न जो कोहीमाथि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।’