मेचीनगर, ३ माघ । नेपाली कम्युनिस्ट पार्टीले झापा निर्वाचन क्षेत्र नं. १ मा इञ्जिनियर अशेष घिमिरेलाई उम्मेद्वार बनाउने भएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज काठमाडौंमा घिमिरेलाई उम्मेद्वारको टिकट प्रदान गर्नु भएको हो ।
पार्टीका केन्द्रीय सदस्य घिमिरे मेचीनगर–१० धुलावारी निवासी हुनुहुन्छ । नेकपा एमालेको विद्यार्थी फाँटबाट राजनीतिक यात्रा सुरु गर्नु भएको प्रभावशाली युवा नेता घिमिरे ४२ वर्षीय हुनुहुन्छ । उहाँ तत्कालीन नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो ।
झापा–१ मा यसअघि नेपाली कांग्रेसका तत्कालीन महामन्त्री एवम् वत्र्तमान उपसभापति विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
उहाँ यसपटक चुनावमा उम्मेद्वार नबन्ने हुनु भएको छ । कांग्रेसले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायत पाँच जनाको नाम उम्मेद्वारको रुपमा सिफारिस गरेर आजै केन्द्रमा पठाएको छ ।
नेकपा एमालेबाट नगर अध्यक्ष राजु कार्की लगायतका नामहरु केन्द्रमा पुगेका छन् । एमालेले पनि आजै उम्मेद्वारको टुंगो लगाउने भएको छ ।
श्रम संस्कृति पार्टीका तर्फबाट अर्का युवा नेता केवलराम राई उम्मेद्वार बन्नु भएको छ । यसरी हेर्दा झापा निर्वाचन क्षेत्र नं. १ मा युवा उम्मेद्वारहरुबीच चुनावी भिडन्त हुने सम्भावना छ ।