झापा–१ मा रोचक भिडन्त
झापा–१ मा रोचक भिडन्त
झापा, ६ माघ । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने गरिन्छ । तर कहिलेकाहीँ राजनीतिले यस्तो मोड लिन्छ जहाँ वर्षौसम्म एउटै विचार र संगठनमा रहेका गुरु र चेला नै एकअर्काका सारथीबाट प्रतिस्पर्धी बन्न पुग्छन् ।
यस्तै रोचक दृश्य यतिबेला झापा निर्वाचन क्षेत्र नम्बर १ मा देखिएको छ ।
विगतमा नेकपा एमालेको एउटै छहारीमुनि रहेर राजनीतिक यात्रा अघि बढाएका रामचन्द्र उप्रेती र अशेष घिमिरे यतिबेला प्रतिनिधिसभा सदस्यका लागि एकअर्काविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् ।
उम्मेदवारी दर्ताका क्रममा आज दुवै नेताबीच जम्काभेट भयो । हिजोको सामीप्य र सम्बन्धको झझल्को दिने गरी उनीहरूले हात मिलाए र केहीबेर भलाकुसारी गरे । दुई प्रतिस्पर्धीबीचको यो आत्मीयता देख्दा त्यहाँ उपस्थित कार्यकर्ताहरूमा पनि उत्साह र मुस्कान छाएको थियो । चुनावी मैदानमा उत्रिए पनि उनीहरूबीचको व्यक्तिगत हार्दिकता भने कायमै देखिन्थ्यो ।
रामचन्द्र उप्रेती एमालेका पाका र बौद्धिक जिल्ला नेताका रूपमा चिनिनुहुन्छ । उहाँ पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।
अशेष घिमिरे विगतमा एमालेकै विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय नेता हुनुहुन्थ्यो । एमाले विभाजनपछि एकीकृत समाजवादी हुँदै हाल उहाँ नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएको छ ।
स्थानीय राजनीतिलाई नजिकबाट नियाल्नेहरूका अनुसार उप्रेती र घिमिरेको सम्बन्ध बिगतमा गुरु र चेलाको जस्तै थियो । उप्रेतीले दिएको राजनीतिक प्रशिक्षण र मार्गदर्शनबाटै घिमिरेले आफ्नो राजनीतिक जग बसाल्नुभएको हो । समयक्रमसँगै घिमिरेले आफूलाई अन्तर्राष्ट्रिय राजनीतिको ज्ञाताका रूपमा समेत स्थापित गरिसक्नुभएको छ ।
यी दुवै नेताको साझा विशेषता भनेको उनीहरूको स्वच्छ छवि र मिलनसार स्वभाव हो । झापा–१ का मतदाताका लागि यो निर्वाचन निकै रोचक हुने देखिएको छ । एकातिर अनुभव र निष्ठाको राजनीति गरिरहेका ‘गुरु’ उप्रेती हुनुहुन्छ भने अर्कातिर युवा जोश र अध्ययनशील ‘चेला’ घिमिरे ।
हिजो एउटै मञ्चबाट भाषण गर्ने यी दुई नेताले अब चुनावी सभाहरूमा एकअर्काका नीति र एजेन्डामाथि कसरी बहस गर्छन् भन्ने विषय यतिबेला झापाको राजनीतिक वृत्तमा निकै चर्चाको विषय बनेको छ ।