११ फागुन २०८२, सोमवार

फागुन २१ मै चुनाव हुन्छ : उपसभापति शर्मा

११ फागुन २०८२, सोमवार
Image

झापा, ११ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको वातावरण बन्दै गएकाले फागुन २१ गते तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन झापाले आज मेचीनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचन सफल बनाउन निर्वाचन आयोग, सरकार, राजनीतिक दल र मिडियाको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो ।

“फागुन २१ गते बकाइदा निर्वाचन हुन्छ,” उहाँले भन्नुभयो– “निर्वाचन हुनका लागि वातावरण चाहिन्छ । अहिले वातावरण बनेको छ । निर्वाचनको विपक्षमा कोही दल थिए भने पनि अहिले उहाँहरु निर्वाचनमा सहभागी हुनुहुन्छ ।”

निर्वाचन हुनका लागि अहिले बनेको अनुकूल वातावरणलाई थप अनुकूलतातर्फ लैजाने कत्र्तब्य राज्यको भएको उल्लेख गर्दै उहाँले निर्वाचनको वातावरणमा असर पुर्याउने आचारसंहिता विपरीतका कुनै गतिविधि नगर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

निर्वाचन हुनु दुश्मनीको अखडा नभएको धारणा राख्दै उपसभापति शर्माले भन्नुभयो– “विचार र व्यक्तित्वको प्रतिष्पर्धाको महायज्ञ हो । तसर्थ फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गराउन जरुरी छ ।”

पत्रकारहरुले राखेका विभिन्न जिज्ञासाको उत्तर दिने क्रममा उहाँले अहिलेको चुनावमा कुन दलले जित्ने र कुनले हार्ने भन्नेभन्दा जेनजी पुस्ताको विद्रोहपछिको विषम परिस्थितिलाई कसले देशलाई सम्हाल्ने भन्ने सवाल महत्त्वपूर्ण भएको बताउनु भयो ।

नेपाली कांग्रेस पहिला आफू बदलिएर देशलाई बदल्ने अभियानमा होमिएको भन्दै उहाँले यसपालीको चुनावबाट पार्टी देशको पहिलो दल बन्ने दावी गर्नुभयो ।