राजनीतिक विश्लेषण
राजनीतिक विश्लेषण
झापा, १७ जेठ । जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाईमा सुरु भएको राजा फर्काउने काठमाडौं केन्द्रित आन्दोलन शान्त छ । व्यवस्था उल्टाउने आन्दोलन यति शान्त भएकोमा धेरैलाई आश्चर्य पनि लागेको छ ।
जेठ १७ गते तेस्रो दिनसम्म आइपुग्दा राजाबादी आन्दोलन शान्तिपूर्ण र भद्र देखिएको छ । कतिसम्म भने सुरक्षाकर्मीसँग धकालधुकुल समेत भएको छैन ।
पहिलो दिन काठमाडौंमा नेकपा एमालेले गणतन्त्रको पक्षमा कार्यक्रम गर्ने भएपछि राजाबादीहरुसँग मुठभेड होला भन्ने धेरैले अनुमान गरेका थिए । तर, राजाबादीहरुसँग यसअघि पनि नेकपा माओबादी केन्द्रसँग एकैदिन कार्यक्रम जुधाउँदा शान्तिपूर्ण रहेको अनुभव थियो ।
आन्दोलनमा सहभागी राप्रपाका एक नेताका अनुसार आन्दोलनकारीको माग भने यस्तो शान्तिपूर्ण छैन । आन्दोलनमा केही झडप, ढुंगा हानाहान, लाठीमुंग्री र धरपकड भएन भने अर्थहीन ठानिन्छ भन्ने उग्र सोच बोकेका कार्यकर्ताको संख्या धेरै छ ।
कतिपय कार्यकर्ताले राप्रपाको आन्दोलन यत्तिकै ढिसमिस होला भन्ने चिन्ता पनि गरेको सुनिन्छ । गत चैत १५ गते दुर्गा प्रसाई नेतृत्वमा भएको तीनकुने प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताहरु अहिलेको आन्दोलनमा पनि सहभागी छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यो आन्दोलनलाई सभ्य, शान्त र भद्र बनाउन चाहनुहुन्छ । उहाँले आन्दोलन शान्तिपूर्ण हुने भनेर पटकपटक अभिव्यक्ति दिदै आउनु भएको छ ।
‘आन्दोलन दुर्गा प्रसाईको जस्तो हुनुपर्छ भन्ने उग्र चिन्तन भएका कार्यकर्ता राप्रपामा नभएका होइनन्,’ राप्रपाका ती नेता भन्नुहुन्छ–‘तर, हाम्रो पार्टीका अध्यक्षज्यू त्यस्तो उग्र गतिविधिले पार्टीलाई दीर्घकालीन क्षति पुर्याउँछ भन्ने विचार राख्नुहुन्छ । त्यही अनुरुप उहाँले हामी सबैलाई शान्त र सभ्य रहन निर्देशन दिदै आउनु भएको छ ।’
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई यतिबेला राजाबादी आन्दोलनलाई हिंस्रक बनाएकै अभियोगमा थुनामा हुनुहुन्छ । राप्रपाका नेताहरु रविन्द्र मिश्र, धवल शमशेर लगायतले पनि लामो समय हिरासतमा बिताउनु पर्यो ।
राप्रपाको यो आन्दोलनलाई प्रसाईले समर्थन गर्नुभएको छैन । ‘धेरै उम्लियो भने पोखिन्छ भनेको यही हो,’ प्रसाईको आन्दोलन शैली नरुचाउने राप्रपा नेताहरु बताउने गर्छन् । प्रसाईसँग निकै नजिकिएका राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही पनि पछिल्लो समय प्रसाईबाट टाढै हुनुहुन्छ ।
उग्र आन्दोलन गरेर धेरै कार्यकर्ता अहिले नै पक्राउ पर्ने र जनधनको क्षति हुने अवस्था नआवोस् भन्ने राप्रपाको चाहना देखिन्छ । हेलिकोप्टरवाला बाहेक उहाँको उग्र अभिव्यक्ति दोहोरिएको पनि छैन ।
जनता सडकमा उतार्दैमा राजतन्त्र फर्किने होइन, बरु आन्दोलनलाई जनमत बढाउने माध्यम बनाउनु पर्छ भन्ने योजना राप्रपाको देखिएको छ । गणतन्त्रबादी राजनीतिक दलहरुसँगको समझदारीमै संबैधानिक राजसंस्था र हिन्दू राज्य फर्काउने राप्रपाको घोषित नीति हो । जनान्दोलन त रणनीति मात्र हो भन्ने प्रष्ट हुँदैछ । तीन करोड जनसंख्या भएको मुलुकमा पन्ध्र बीस हजार कार्यकर्ता सडकमा उतार्दैमा व्यवस्था उल्टिने कुरा सम्भव छैन ।
राप्रपाले जनाआन्दोलन गर्ने भनेर काठमाडौंमा उतारेका कार्यकर्ता धेरैजसो बाहिरका छन् । सँधैको तुलनामा छिटै बर्खा लागिसकेको हुँदा कार्यकर्ताहरु लामो अवधि थामिने अवस्था छैन । राप्रपा नेताहरुले आम कार्यकर्ताको यो मनोदशा राम्ररी बुझेका छन् । कति दिन आन्दोलन चल्ला भन्ने प्रश्नको उत्तर राप्रपा अध्यक्षले केही दिन अघि ‘कम्तीमा सात दिन काठमाडौं नछाड्नु’ भनेर दिनु भएको निर्देशनले नै संकेत गरेको छ ।
‘नेताहरु मात्र तातेर हुँदैन, जनता तात्नु पर्यो’ भन्ने राप्रपा अध्यक्षको भनाई रहने गरेको नेताहरु बताउँछन् । यो आन्दोलनले पूर्वराजालाई नारायणहिटी भित्राउन सम्भव छैन भन्ने कसले बुझेको नहोला र ! खासमा राजाबादीको पक्षमा जनता कति तातेका रहेछन् भनेर जाँच्ने एउटा परीक्षा भने अवश्य राप्रपाको आन्दोलन हुने भएको छ । बर्खा, बाढी वा विपद्को कारण देखाएर केही दिनपछि आन्दोलन स्थगित भयो भने अचम्म मान्नु पर्ने छैन ।
आन्दोलन निरन्तर चलिरहने प्रक्रिया हो भनेर अहिले अलिअलि तातेको माहौललाई चौरासीको चुनावमा भोटमा रुपान्तरण गर्दै राप्रपालाई गणतन्त्रबादी राजनीतिक दलहरुकै हाराहारीको शक्तिमा परिणत गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको ‘आन्दोलित सपना’ भने कहिँकतै लुकेको छैन ।