झापा, २२ असार । बीएन्डसी हस्पिटलमा आजदेखि मुटु रोगको उपचारमा 'विपन्न नागरिक औषधि उपचार कोष'को सुविधा लागू भएको छ ।
हस्पिटलले आज पत्रकार सम्मेलन गरी नेपाल सरकारद्वारा सञ्चालित कोषबाट रु. एक लाखसम्मको निःशुल्क उपचार गर्न सकिने जनाएको हो ।
हस्पिटलमा यसअघि मृगौला, क्यान्सर र स्पाइनल इन्जुरीको उपचार गराउँदा विपन्न नागरिक औषधि उपचार कोषमार्फत रु. एक लाखसम्मको निःशुल्क उपचार हुँदै आएको थियो ।
“आर्थिक अभावले कोही पनि मुटु रोगको उपचार पाउनबाट वञ्चित हुन नपरोस् भनेर यो सुविधा ल्याएका हौं”– हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले पत्रकार सम्मेलनमा भन्नुभयो ।
उहाँले हस्पिटलमा हरेक महिना ८० वटाभन्दा बढी एन्जीयोग्राफी हुने गरेको जनाउँदै हालसम्म मुटु रोगको ओपीडीमा १० हजारभन्दा बढी बिरामीको उपचार भइसकेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा मुटु रोगको उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरु डा. केशव न्यौपाने र डा. प्रितम गच्छदारले मुटु रोग र बीएन्डसीमा हुने उपचारका बारेमा जानकारी दिनु भएको थियो ।
डा. न्यौपानेले असन्तुलित खानपान र जीवनशैलीका कारण झापामा मुटु रोगीको संख्या वर्षेनी बढ्दै गएको जानकारी दिदै कोलेस्टोरल जाँच र इसीजी जस्तो अति सस्तो स्वास्थ्य परीक्षणबाटै मुटुमा हुनसक्ने हर्ट एट्याक जस्तो घातक समस्या बेलैमा थाहा पाउन र उपचार गर्न सकिने बताउनुभयो ।
विपन्ना नागरिक औषधि उपचार कोषबाट निःशुल्क उपचार प्राप्त गर्न विरामीले आफ्नो पालिकाबाट सिफारिस ल्याउनु पर्ने बताउनुभयो ।
बीएन्डसी हस्पिटलले विपन्ना नागरिक औषधि उपचार कोषबाट सुविधा प्रदान गर्नका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरेको जनाएको छ ।