२८ वैशाख २०८२, आइतवार

हाम्रो मेचीनगर

मेचीनगरमै एआई जडित एक्स–रे मेसिनले पत्ता लगाउन थाल्यो टीबीका बिरामी

२७ वैशाख २०८२, शनिवार
Image

झापा, २७ बैशाख । कोशी प्रदेशमा क्षयरोगका संक्रमित पत्ता लगाउन कृत्रिम वौद्धिकता (एआई) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोगमा ल्याइएको छ । यही प्रविधिबाट क्षयरोगका विरामी पत्ता लागिरहेका छन् । 

कोशी प्रादेशिक स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन तुलसीप्रसाद गुरागाईका अनुसार प्रदेशका १० वटा जिल्लामा निःशुल्क स्वास्थ्य शिविरमार्फत एक हजार व्यक्तिको एआई जडित प्रविधिबाट एक्स–रे गर्दा क्षयरोगका एक सय जना नयाँ संक्रमित पत्ता लागेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले सातै प्रदेशलाई एआई जडित अत्याधुनिक एक्स–रे मेसिन उपलब्ध गराएको र त्यही मेसिन आलोपालो पालिकाहरुमा पुर्याएर क्षयरोगीको खोज पड्ताल भइरहेको उहाँले बताउनुभयो ।

सरकारले मुलुकलाई क्षयरोग मुक्त बनाउने अभियान अन्तर्गत पुराना बिरामीको उपचार र नयाँ संक्रमित पत्ता लगाउने कार्यमा जोड दिएको छ । वडास्तरमा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा ६० बर्षमाथिका सबैको एआई जडित एक्स–रे मेसिनबाट क्षयरोगको जाँच गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

शिविरमा क्षयरोगका विरामी रहेका घरका १५ बर्षमाथिका सबै र रुखा खोकीलगायतका समस्या भएका विरामीहरुको अनिवार्य परीक्षण गरिन्छ । एआई जडित एक्स–रे मेसिन प्रयोग गर्न कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले दुई जना दक्ष प्राविधिक रेडियोलोजिस्टलाई मेसिनसँगै पालिकाहरुमा पठाउने गरेको छ । 

एआई जडित एक्स–रेबाट परीक्षण गर्दा रोग भए प्रष्ट देखाउने र हुने सम्भावना (शंकास्पद संक्रमित) समेत देखाउने भएकाले यो प्रविधि उपयोगी रहेको गुरागाईले बताउनुभयो । मेसिनले एक दिनमा औसत तीन सय जनाको चेक जाँच गर्न सकिन्छ । परीक्षण गर्दा फेला परेका नयाँ संक्रमितलाई शिविरमै चिकित्सकले औषधि दिने र शंकास्पद संक्रमित फेला परेमा खकार परीक्षणका लागि अस्पताल पठाइदिने गरिएको छ । 

झापाको मेचीनगर, कचनकवल, झापा, दमक र गौरादह पालिकाका क्षयरोग खोज पड्तालका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना भइरहेका छन् । शिविरमा एआई जडित एक्स–रे मेसिन प्रयोग भइरहेको मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताउनुभयो ।

“हाम्रो नगरको वडा नं. ४ को स्वास्थ्य शिविरमा पहिलोपल्ट एआई एक्स–रे मेसिन प्रयोगमा ल्याएका छौं,” मेचीनगरकी स्वास्थ्य शाखा प्रमुख सापकोटाले भन्नुभयो–“शिविरमा २३० जनाको परीक्षण गर्दा छ जना क्षयरोगका नयाँ संक्रमित र २० जना शंकास्पद संक्रमित फेला परे ।”

(फोटो : अर्जुन कार्की / प्रेस संयोजक, मेचीनगर नगरपालिका)