भद्रपुर, २६ पुस । भद्रपुर क्रिक्रेट क्लवको आयोजनामा मेची रंगशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो नेपाल टी–२० च्याम्पियनसिप कप क्रिक्रेट प्रतियोगिता’ हुने भएको छ ।
नेपालका चार र भारतका चार टोलीको सहभागिता रहने उक्त प्रतियोगिताका बिजेताले रु. पाँच लाख र उपबिजेताले रु. तीन लाख नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक एवम् वडाध्यक्ष मनोज सुब्बाले बताउनुभयो ।
प्रतियोगितामा भाग लिन भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनउ, क्रिकेट कोचिङ एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी नेपाली टोलीहरु भद्रपुर क्रिकेट क्लब, विराटनगर किङ्ग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाड रहेका छन् ।
भारतबाट सहभागी टोलीमा रञ्जित ट्रफि खेलिरहेका खेलाडीहरू र नेपाली क्लबबाट एनपीएल खेलिसकेका खेलाडीहरू मैदानमा उत्रिने उहाँको भनाई छ ।
भद्रपुर नगरपालिका वडा नं. ८ स्थित मेची बहुमुखी क्याम्पसको खेल मैदान लिजमा लिएर भद्रपुर क्रिक्रेट क्लवले तीन वर्षको अवधिमा शानदार क्रिक्रेट मैदान निर्माण गरिसकेको छ । प्रतियोगिता त्यही मैदानमा हुने भएको छ ।
खेलबाट मुलुकको पर्यटन क्षेत्रमा योगदान पुग्ने भएकाले आयोजकले कोशी र पाथिभरा समेत जोडेर प्रतियोगिताको नामाकरण गरेका छन् ।
झापा क्रिक्रेट संघका अध्यक्ष प्रविण थापाले क्रिक्रेटका माध्यमबाट नेपालको पहिचान र प्रतिष्ठा विश्व मञ्चहरुमा उच्च भइरहेको धारणा व्यक्त गर्दै भद्रपुरमा आयोजना हुन लागेको क्रिक्रेट प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो योगदान पुर्याउने बताउनुभयो ।
प्रतियोगितामा रु. एक करोड २२ लाख खर्च हुने र क्रिक्रेट मैदानको दर्शक क्षमता १० हजार रहेको संयोजक सुब्बाले जानकारी दिनुभएको छ ।