मेचीनगर, १७ फागुन । चुनाव भन्ने बित्तिकै गाउँ बस्तीमा झण्डाको लर्को र चुनावी प्रचार गर्ने सवारी साधनको रमिता देख्न पाइन्छ । कतिपय उम्मेद्वारहरु चिल्ला गाडीहरूको लस्कर लगाएर ठाँटसँग ‘रोड शो’ गरेर भोट माग्न हिँड्छन् । कतिपय प्रचारमा हिँडेका कार्यकर्ताहरु मासुभात नखाई त पाइलो पनि सारिदैन भनेर हाकाहाकी भन्छन् । बिगतदेखि नै बिकृति र बेथितिको आहालमा डुब्ने गरेको छ चुनावी माहोल ।
तर, यही भीडमा एउटा यस्तो उम्मेदवार छन्, जसको चुनाव प्रचारमा न त तामझाम छ, न त कार्यकर्तालाई भोजभतेरले लोभ्याइएको छ । झापा निर्वाचन क्षेत्र नं. १ का मतदाता यतिबेला त्यही फरक चुनावी दृश्यका साक्षी बनिरहेका छन् ।
नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उतारेका रामचन्द्र उप्रेती (आरसी)को सचिवालयले केही दिन अघि एउटा नारा सार्वजनिक गर्यो— ‘आरसी नष्ट होलान्, तर भ्रष्ट हुँदैनन् ।’ पढ्दा कतिपयलाई यो चुनाव जित्ने फण्डा मात्र लाग्न सक्छ । तर, जसले आरसीलाई नजिकबाट चिनेका छन्, उनीहरूका लागि यो नारा होइन, एउटा जिउँदो इतिहासको प्रतिविम्ब र वास्तविकता हो ।
आरसीले करिब तीन दशक आफ्नो जीवनको ऊर्जावान समय नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)लाई दिए । आज एनएमसी देशकै ‘टप फाइभ’ सहकारीभित्र पर्छ । हजारौँले प्रत्यक्ष रोजगारी पाएका छन् । तर, यो विशाल सहकारी खडा गरिरहँदा आरसीको हातमा कहिल्यै भ्रष्टाचारको धमिरा लागेन ।
एउटा किस्सा नै छ– ‘एनएमसीमा जागिर खान लोकसेवा पास गर्नुभन्दा बढी मिहिनेत गर्नुपर्छ ।’ किनकि त्यहाँ न सोर्सफोर्स चल्छ, न त नातावाद । आरसीले संस्था चलाउँदा कसैलाई काखा र कसैलाई पाखा गरेनन् । रगत र पसिना बगाएर सदस्यहरूले जम्मा गरेको पाइपाइ पैसामा उनले कहिल्यै लोभी नजर लगाएनन् । आज सहकारी क्षेत्रमा ठूला संकट आउँदा पनि एनएमसी पहाडझैँ ठिङ्ग उभिनुको एउटै रहस्य हो–आरसीको इमानदार नेतृत्व ।
आरसी जहाँ लाग्छन्, त्यहाँ आफु मात्र सफल हुँदैनन्, संस्था र संस्थाका सदस्यहरुलाई पनि सफल बनाएरै छाड्छन् । एनएमसीले डेरी, गाईपालन र चिया उद्योग सञ्चालन गर्दा सुरुमा कतिपयले संस्था डुब्ने भयो भनेर नकारात्मक आशंका गरेका थिए । तर, उनको नेतृत्वमा स्थापना भएका डेरी, एग्रो फार्म, चिया उद्योग, सहकारी सुपरमार्केट लगायतका सबै संस्था देशकै उदाहरणीय बनेका छन् । आज एनएमसी एउटा सफल ब्रान्ड बनिसकेको छ ।
आरसीले चन्दा, चिठ्ठा र घुसखोरी मन पराउँदैनन् भन्ने अधिकांशलाई थाहा छ । उनी चुनावमा उठ्दा खर्च नगर्ने उम्मेद्वारको रुपमा समेत चिनिएका छन् । सरकारी अड्डा अफिसमा उनी कहिल्यै घुस वा कमिसन खुवाएर काम लिँदैनन् । कार्यकर्तालाई भोज खुवाएर चुनावमा खटाउनु पर्छ भन्ने सोच उनको छैन । पैसा हुनेले मात्र चुनावमा उठ्न सक्छन् भन्ने भाष्य फेरिनु पर्छ र मतदाताले स्वच्छ र कसैबाट प्रभावित नभइकन मताधिकार प्रयोग गर्नुपर्छ भन्ने उनको दृढ सोच अहिलेको महँगो चुनावी माहौल देखेकाहरुलाई अनौठो कथा जस्तो लाग्छ ।
आरसीको सादगीका किस्साहरू रोचक छन् । केही दिनअघि एउटा गाउँमा उनी मोटरसाइकल चढेर मतदाता भेट्न पुगे । सादा लुगा, सामान्य व्यवहार देखेर होला, बाहिर जिल्लाबाट आएका एक पाहुनाले आरसीलाई चिनेनन् । उनले सोधे– ‘उम्मेदवार चाहिँ कतिबेला आउनुहुन्छ ?’
छेउमै पलेँटी कसेर बसेका आरसीले विनम्रतापूर्वक हात जोडेर भने– ‘नमस्कार, म नै हुँ आरसी, नेकपा एमालेको उम्मेदवार ।’ ती पाहुना अवाक् भए । उनले त सोचेका थिए, उम्मेदवार भनेको त रोड शो गर्दै चिल्लो गाडीमा लावालस्कर लिएर आउने र रवाफिलो गफ दिने मान्छे होला । तर, आरसी दम्भ र अहंकारबाट कति टाढा छन् भन्ने कुरा उनको यो सादगीले प्रस्ट पार्छ । जब उनलाई सोधियो, ‘तपाईँ कहिलेदेखि राजनीतिक पेसामा लाग्नुभयो ?’ उनले सजिलै उत्तर दिए– ‘मेरो फर्निचर उद्योग छ, राजनीति मेरो पेसा होइन, सेवा हो ।’
अहिलेको महँगो चुनावमा अर्को अचम्मको दृश्य पनि देखियो । नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की दिउँसो घरमै खाना खाइरहेका थिए । कसैले सोध्यो, ‘सबै नेता भोट माग्न व्यस्त छन्, तपाईँ चाहिँ किन घरमा ?’ कार्कीले हाँस्दै भने– ‘आरसी दिउँसो भात खान घर जानुभयो, अनि हामी पनि घरतिरै आयौँ । हामी सबैजना विहानैदेखि भोट माग्न हिँडिरहेकै छौं ।’
यो सामान्य घटनाले ठूलो सन्देश दिन्छ । चुनाव जित्नका लागि कार्यकर्तालाई होटलमा भोज खुवाउने, मोटरसाइकलमा पेट्रोल भरिदिने र गरिबको मत किन्न पैसा बाँड्ने विकृतिलाई आरसीले जरैदेखि इन्कार गरेका छन् । उनको मान्यता प्रस्ट छ– ‘चुनाव जित्न पैसा र झुटा आश्वासन होइन, विश्वास जित्नुपर्छ । जसले चुनावमा पैसा लगानी गर्छ, उसले जितेपछि भ्रष्टाचार गरेरै त्यो लगानी उठाउँछ । तर म पैसा खर्च गर्दिन र भ्रष्टाचार पनि गर्दिन ।’
आरसी राजनीतिमा हिजोआज देखिएका ‘मौसमी पात्र’ होइनन् । २०४६ सालअघि लोकतन्त्रका लागि जेलनेल भोगेका संघर्षशील नेता हुन् । उनी प्रखर लेखक हुन्, स्तम्भकार हुन् र सामाजिक न्यायका योद्धा हुन् । उनको एउटा खुबी छ– गलत गर्नेलाई आफ्नै पार्टीको भए पनि ‘गलत’ भन्न सक्ने साहस ।
आज झापा–१ मा एउटा यस्तो उम्मेदवार उभिएको छ, जोसँग सम्पत्तिको नाममा केवल ‘स्वच्छ छवि’ र ‘निष्ठा’ छ । आरसीको यो मितव्ययी र इमानदार चुनावी अभियानले एउटा प्रश्न उब्जाएको छ– के अब हाम्रो राजनीति साँच्चै बदलिने दिशामा छ ?
नाराले भनेझैँ, आरसी नष्ट हुन स्वीकार गर्लान्, तर आफ्नो नैतिकता बेचेर भ्रष्ट हुन कहिल्यै तयार हुने छैनन् । मतदाताका लागि यो एउटा भोट दिने निर्णय मात्र होइन, राजनीतिमा इमानको बिउ जोगाउने अवसर पनि हो ।
झापा–१ को चुनावी मैदानका अन्य उम्मेद्वार पनि स्वच्छ छविका छन् । फरक तर असल विशेषताका कारण चर्चामा छन् । तर, यो क्षेत्र मात्र होइन, सिंगो देशैभरि आरसीले चुनावमा प्रस्तुत गरेको उदाहरणीय शैली आजको समाजले खाजेको परिवर्तन र आवाजसँग मेल खाएको छ भनेर प्रशंसा गर्न उहाँको पार्टीको कार्यकर्ता चाहिँ भइरहनु पर्दैन ।